Aafno Khabar
sanima bank

मुगु दुर्घटनामा मृत्यु भएका २४ जनाको सनाखत (नामावली सहित)

  • आफ्नो खबर
  • २०७८ आश्विन २७ गते १३:१६ प्रकाशित

मुगु । मुगुमा मंगलबार बस दुर्घटनामा परि मृत्यु भएका मध्ये २४ जनाको सनाखत भएको छ। दुर्घटनामा ३२ जनाको मृत्यु भएको थियो। प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो।

मृत्यु हुनेमा २२ पुरुष र १० महिला छन्।नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको उक्त बस मंगलबार मध्याह्न १२ बजेतिर छायाँनाथ रारा नगरपालिका–७ स्थित पिनाटपने खोलामा दुर्घटनामा परेको थियो।

प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेले चालक दलबहादुर रावलसहित २४ जनाको सनाखत भएको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार दुर्घटनामा छायाँनाथ रारा नगरपालिका वडा नम्बर १ की २३ वर्षीया चन्द्रा मल्ल, वडा नम्बर ६ की १९ वर्षीया राममाया धामी,७ की १९ वर्षीया लग्न सेजुवाल, उनका २ वर्षका छोरा, २१ वर्षीया अमृता शाही राणा, ५ वर्षीय आयुष राणा, २२ वर्षीय महेन्द्र शाही र २० वर्षीया मनदेवी बमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

वडा नम्बर ५ का २९ वर्षीय अजय कार्की र ३२ वर्षीया कमला बीसी राउतको ज्यान गएको छ। त्यस्तै सोही नगरपालिकाको वडा नम्बर १० की १८ वर्षीया पूजा बुढा, वडा नम्बर ८ की ३३ वर्षीया प्यारी विक , ३५ वर्षीय दानबहादुर रावल र २२ वर्षीय सन्तोष बिकालु, २० वर्षीया सरिता खड्का, १८ वर्षीय अमर साउद र २२ वर्षीय सुनबहादुर विकको ज्यान गएको छ।

वडा नम्बर १२ का २२ वर्षीय छाता साउद, वडा नम्बर १४ का २२ वर्षीय कर्णसिंह बुढा, १९ वर्षीय शिव बुढा र २० वर्षीय रुपसिंह कार्की, वडा नम्बर ११ का २२ वर्षीय प्रकाश बुढाको ज्यान गएको छ।

दुर्घटनामा मुगुको सोरु गाउँपालिका ३ का २५ वर्षीय मनरुप कुमाल र बाँके जिल्लाका २२ वर्षीय प्रदीप स्वर्णकारको ज्यान गएको छ। दुर्घटनामा ज्यान गुमाएका अन्यको भने सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले चालकतर्फको टायर पञ्चर भई दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ। यद्यपि दुर्घटनाको कारण थप अनुसन्धानबाट मात्र यकिन हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ। बस सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो। नेपालगञ्जबाट सोमबार छुटेको उक्त बसमा ४५ यात्रु सवार थिए।

घाइतेलाई सुर्खेत बेस क्याम्पमा रहेको नेपालीको सेनाको हेलिकप्टर र समिट एअर विमानमार्फत नेपालगञ्ज पुर्‍याइएको थियो। घाइतेको बाँकेको कोहलपुर र नेपालगञ्ज मेडिकल कलेज उपचार भइरहेको छ। सामान्य घाइते छ वर्षीया एक बालिकाको मुगु जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

मृतक मुगुको गमगढी, छायाँनाथ रारा नगरपालिका क्षेत्रका बढी रहेको बताइएको छ। दुर्घटनालगत्तै मुगुबाट प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतसहित सुरक्षा निकायका प्रमुख उद्धारका लागि खटिएका थिए।

प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐरले जिल्ला प्रहरीलाई दुर्घटनाको खबर आउने बित्तिकै उद्धार गरेर उपचारका लागि पठाइएको बताए। उनका अनुसार हाल १३ जना उपचाररत छन्।