Aafno Khabar

चीनमा फैलन थाल्याे काेराेना भाइरसकाे डेल्टा भेरियन्ट

  • आफ्नो खबर
  • २०७८ साउन १७ गते ०८:२१ प्रकाशित

काठमाडाैं । चीनमा कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिरहेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । पछिल्ला दिनमा विश्वका अरु प्रभावित देश जस्तै चीनमा पनि नयाँ प्रकारको डेल्टा भेरियन्टबाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थालेको हो ।

पछिल्लो २४ घण्टामा मात्र चीनमा थप ५५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ३० जना व्यक्तिमा स्थानीय रूपमा फैलिएको सङ्क्रमण भेटिएको छ भने बाँकी विदेशबाट पुगेका यात्रुमा भेटिएको चाइना डेलीले उल्लेख गरेकाे छ ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार जिआङ्सुुमा १९, हुनानमा ६, चोङकिङमा २ र लियोनिङ, फुजियान र सिचुआनमा एक/एक जनामा डेल्टा भेरियन्ट सङ्क्रमण पुष्टि भएको हो । चीनको नान्जिङ सहरबाट कोरोना भाइरस अन्त फैलिरहेकाे पनि समाचारमा जनाइएकाे छ ।

गएको जुलाई २० मा नान्जिङ विमानस्थलमा एक जनामा कोरोना भाइरस डेल्टा भेरियन्ट फेला परेको थियो । त्यसपछि अन्यत्र पनि याे फैलिरहेकाे छ ।