Aafno Khabar

टाेकियाेमा अहिलेसम्मकै धेरै काेराेना संक्रमित फेला

  • आफ्नो खबर
  • २०७८ साउन १४ गते ०७:१३ प्रकाशित

एजेन्सी । जापानको राजधानी टोकियोमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित फेला परेका छन् । बुधबार त्यहाँका सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार टोकियोमा एकैदिन तीन हजार १७७ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

टोकियोमा एकैदिनमा यति धेरै नयाँ सङ्क्रमित थपिएको अहिले पहिलोपटक हाे । विश्वको ध्यान खिचेको ओलम्पिक खेलकुद प्रतियोगिता सुरु भएको केही दिनपछि टोकियोमा सङ्क्रमितको सङ्ख्यामा एकाएक वृद्धि भएको हो ।

गतवर्ष सन् २०२० मा हुनुपर्ने ओलम्पिक खेलकुद प्रतियोगिता कोरोनाभाइरसको महामारीका कारण एक वर्ष पछाडि सरेर अहिले भइरहेको हो । महामारीका बीचमा भइरहेको खेलकुद प्रतियोगिताका कारण टोकियोमा महामारी थप फैलिने खतरा देखिएकाे छ ।

जापानको केन्द्रीय सरकारले यही जुलाई १२ देखि अगस्ट २२ सम्मका लागि टोकियोमा चौथो चरणको सङ्कटकाल लागू गरेको छ । टोकियोका बार तथा रेस्टुरेन्टहरुमा मादक पदार्थ विक्री वितरण गर्न प्रतिबन्ध लगाइएको छ भने बेलुका सबेरै बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ ।

ओलम्पिक खेलकुद प्रतियोगिताका लागि लाखौँ खेलाडी, खेल पदाधिकारी, सञ्चारकर्मी र खेलप्रेमीहरू टोकियोमा छन् ।