काठमाडाैं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् ।
मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा बुझाएका हुन । उनकाे राजीनामा प्रदेश प्रमुखले स्विकृत गरेका छन् ।
पाेखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। उनीविरुद्धको अविश्वास प्रस्ताव आइतबार प्रदेश सभामा पेश हुन लागेको छ ।
विपक्षी दलले ६ वैशाखमा अविश्वास प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री पोखरेलले जसपाका चार जना सांसदलाई मन्त्री नियुक्त गरेका थिए । मन्त्री नियुक्त भएका चारै सांसदलाई जसपाले कारबाही गरेको छ भने उनीहरूको सांसद पद खारेज भइसकेको छ ।
उनले प्रदेश सभाको बैठक बस्नु अघि नै राजीनामा दिएका हुन् । प्रदेश सभाको बैठक आज दिउसो १ बजे बस्ने तय भएकाे थियाे ।