पर्सा । नेपालमा थप तीन जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यो सँगै नेपालमा अब कोरोना संक्रमतिको संख्या ५७ पुगेको छ ।
बुधबार एकैदिन तीनजनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमितहरू जीतपुर सिमरा नगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढका ३१ वर्षीय र वीरगञ्ज २ छपकैयाका ४६ वर्षीय पुरुषहरू हुन् । तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका रहेको बताइएको छ ।
आइतबार वीरगञ्जका दुईजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरूमध्ये वीरगञ्ज १६ का एक जना दिल्लीको धार्मिक सभामा सहभागी भएका थिए ।
उनीहरूको प्रत्यक्ष सम्पर्कमा रहेकाहरूलाई खोजी गर्ने क्रममा छपकैयाका ४६ वर्षीय पुरुषलाई सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएको थियो ।
उनको पनि रिपोर्ट पोजेटिभ भएको आएको छ । यस्तै, बाराका संक्रमित पनि जमातीको सम्पर्कका आएकाहरूको खोजी गर्ने क्रममा परीक्षणको दायरामा आएका थिए । उनीहरू ६ मार्चमा दिल्ली गएर ११ मार्चमा नेपाल फर्किएका थिए ।