काठमाडौं । सत्तारूढ नेकपामा देखिएको विवादमा प्रधानमन्त्री एंव अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल समुह मिलेर जाने संभावना बढेको छ । विवादबारेमा छलफल गर्न दुई पक्षको बैठक सकिएपछि भोली मंगलवारका लागि सचिवालय बैठक बोलाएको छ ।
छलफलपछि सहभागि उपप्रधानमन्त्री ईश्वर पोखरेलले अनौपचारिक कुराकानी भएको तर कुनै निर्णय नभएको बताए । उनले मंगलबार पार्टी सचिवालय बैठक बस्ने जानकारी दिए । नेपाल पक्षका नेता रघुजी पन्तले दुवै पक्षका बीचमा मन माझ्ने काम भएको बताए । उनले भोलि सचिवालय बस्ने बताए । पन्तले अहिलेको अवस्थामा स्थायी समिति बैठक बोलाउदा अझ भद्रगोल हुने बताए । नेपाल पक्ष तत्काल स्थायी समिति नबोलाउने पक्षमा सहमति भएसंगै दुई समुह मिलेर जाने सहमति भएको बताइएको छ ।
छलफलमा ओली पक्षबाट ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली सहभागी थिए भने नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी थिए । नेकपामा नेता नेपाल ओली पक्ष वा दाहाल पक्ष जता उभिए उतै बहुमत पुग्ने अवस्था छ । नेकपाभित्र सरकारको समीक्षाको माग गर्दै स्थायी समिति सदस्यले बैठक बोलाउन माग गर्दै अध्यक्षद्वयलाई आग्रह गरेका छन् । स्थायी समितिको बैठक माग गर्ने अधिकांश नेपाल समुहका नेता थिए ।