Aafno Khabar

सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कट्टा नगर्न सरकारको निर्देशन

  • २०७७ बैशाख ८ गते ०९:५६ प्रकाशित

काठमाडौं । सरकारले कोभिड १९ रोकथाम तथा उपचार कोषमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कट्टा नगर्न निर्देशन पठाएको छ ।

प्रहरी प्रधान कार्यालयले केही दिनअघि अधिकृत तहदेखि माथिका प्रहरीको तीन देखि सात दिनसम्मको तलब कट्टा गरी कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले संकटको बेला फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब काटेर कोषमा नराख्ने निर्णय गरेको हो ।

सोही निर्णय बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सम्बन्धित निकायलाई तलब कट्टा नगर्न पत्राचार गरिसकेको छ । प्रहरी अधिकृत कसैले स्वेच्छिक रुपमा कोषमा तलब काटेर जम्मा गर्न सक्ने तर अनिवार्य हुने छैन ।

सरकारले गठन गरको कोषमा अन्य राष्ट्रसेवक कर्मचारीको तलबबाट भने ओहोदा अनुसार तीन देखि ७ दिनसम्मको तलब कट्टा गरेको छ ।