काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक गरिने मिर्गौला प्रत्यारोपणको तयारी पूरा भएको छ ।
बुधबार मिर्गौलाको प्रत्यारोपण गर्नका लागि प्रधानमन्त्री ओली आजै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुहुनेछ ।
यसअघि प्रधानमन्त्री ओलीको २०६४ सालमा भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसबेला उहाँलाई बुहारी नाता पर्ने अञ्जना घिमिरेले मिर्गौला दिनुभएको थियो । अहिले प्रधानमन्त्री ओलीलाई भाञ्जी नाता पर्नेले मिर्गौला दिने भनिए पनि नाम भने खुलाइएको छैन ।
प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणका लागि देशकै सरकारी अस्पताल रोज्नुभएको छ । पहिलोपटक प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छोडेपछि उहाँ नियमित डायलासिस गराउँदै आउनुभएको छ ।