Aafno Khabar

प्रचण्डलाई जुत्ता हान्ने युवक काे हुन ? युद्वकालकाे पीडित परिवार हाे त उनकाे ?

  • March 1, 2020 प्रकाशित

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आइतबार राष्ट्रिय सभागृहमा जुत्ता प्रहार भयाे । उनीमाथि जुम्लाका रतन तिरुवाले जुत्ता प्रहार गरेका हुन।

करिब २१ वर्षका उनी लोक सेवा आयोगको परीक्षा तयारीमा थिए । उनका बाबु मनु तिरुवाले सशस्त्र द्वन्द्वमा ज्यान गुमाएको रतनले प्रहरीसँगकाे वयानमा बताएका छन् ।

प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा भरतमोहन अधिकारी फाउन्डेसनको कार्यक्रममा रतनले प्रचण्डलाई जुत्ता प्रहार गरेपछि सुरक्षाकर्मीले उनलाई तुरुन्तै निण्न्त्रणमा लिएका थिए । तर प्रचण्डलाई जुत्ताले भने लागेन ।

रतनका बाबुले सशस्त्र द्वन्द्वका बेला आफ्नो ज्यान गुमाएकाे बताइएकाे छ । यद्यपी माओवादीले तयार पारेको ११२२० जना सहीदको सूचीमा भने रतनका पिताको नाम नभएकाे बताइएकाे छ । १०९४ जना बेपत्ता योद्धाहरुको सूचीमा पनि रतनका बुबा मनु तिरुवाको नाम छैन ।

साविक माओवादीले संकलन गरेको सहिद र बेपत्ताको सूचिमा तिरुवाका बुबाको नाम फेला नपरेकाे हाे । तिरुवाका बुबा माओवादी युद्धका क्रममा मारिएको भन्ने रतनको दाबी असत्य भएको नेकपा जुम्लाले आइतबार एक विज्ञप्तिमार्फत जनाएको छ ।