काठमाण्डाै – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभरको मौसम प्रभावित भएको छ । अहिले देशको पश्चिमी पहाडी भेगमा आंशिक बदली तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन् । पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले उल्लेख गरेका छन् ।
राति देशको मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भूभागमा आंशिक बदली रहने जनाइएको छ । मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरुमा र पश्चिमका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि जनाइएको छ।