Aafno Khabar

निर्भया बलात्कारमा संलग्नको मृत्युदण्ड फेरी रोकियो

  • २०७६ माघ १८ गते ०२:२९ प्रकाशित

काठमाडौं । भारतमा निर्भयाको सामूहिक बलात्कार र हत्यामा संलग्नहरुलाई मृत्युदण्ड पुनः रोकिएको छ । गएको माघ ३ गते पटियाला हाउस कोर्टले जारी गरेको वारेन्ट अनुसार चारजना दोषीलाई फेब्रुअरी १ अर्थात माघ १८ गते फाँसी दिइने भनिए पनि फेरि रोकिएको हो ।

जीवनरक्षाको अपिल गरेकामध्ये विनय शर्माको मुद्दा अदालतमा विचाराधिन रहेकाले तोकिएको मितिमा फाँसी नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अब पटियाला हाउस कोर्टले डेथ वारेन्टीको आदेश नदिएसम्म उनीहरुको मृत्युदण्ड नहुने बताइएको छ ।

यसअघि जनवरी २२ अर्थात माघ ८ गते नै उनीहरुलाई फाँसी दिनेगरी सजाय सुनाइए पनि फाँसीको दिन फेब्रुअरी १ तारिखका लागि सारिएको थियो । अदालतले बलात्कार घटनाका दोषी ठहर गरेका अक्षय सिंह, विनय शर्मा, पवन गुप्ता र मुकेश सिंहलाई बिहान ६ बजे फाँसी दिने फैसला गरेको थियो ।

अदालतले दोषी ठहर गरेकामध्ये मुकेश सिंहले दिएको जीवनरक्षाको अपील राष्ट्रपति रामनाथ कोविन्दले खारेज गरेका थिए । घटनामा संलग्न मुकेशका दाजु राम सिंहले २०१३ मा तिहाड जेलमा आत्महत्या गरिसकेका छन् ।

राष्ट्रपतिले जीवनरक्षाको अपिल खारेज गरेपछि अदालतका अधिकारीले चार जना दोषीको विरुद्धमा नयाँ ‘डेथ वारेन्ट’ जारी गरेकोे हो । सन् २०१२ को डिसेम्बर १६ मा २३ वर्षकी एक मेडिकल छात्रालाई गुडिरहेको बसमा सामूहिक बलात्कारपछि हत्या गरेको अभियोगमा चारजनालाई मृत्युदण्डको सजाय सुनाइएको हो ।