Aafno Khabar

१० रुपैयाँमा खाना खाने ठाउँमा थेगी नसक्नु भिड

  • २०७६ पुष १९ गते १४:५९ प्रकाशित

विराटनगर । विराटनगरको मेनरोडस्थित जैन भवन छेउमा केही दिनयता निकै ठूलो भिड देखिने गर्छ । बटुवाहरू के भएछ भनेर हेर्छन ।

सडकपेटीमा टाँगिएको टेन्टमुनि हातमा थाल लिएका मानिसहरूको लामो लाइन हुन्छ । पढ्न सक्नेले भरपेट खानाको रु १० टेन्टमा लेखिएको पढ्छन । थाहा पाउनेहरू आज कस्तो भिड रहेछ भनेर हेर्दै अघि बढ्छन ।

अघिल्तिर ठूलो भड्डबाट भात र तरकारी पस्केर दिन केही मानिसलाई भ्याइनभ्याइ हुन्छ । कतिपय चाहिँ त्यतै रोकिएर १० रुपैयाँ तिरेर कुपन लिन्छन र स्टलतिरको लाइनमा बसेर खाना खान्छन ।

विराटनगरका चार जनाले समाजसेवा गर्ने भावनाले सुरु गरेको सस्तो खाना खुवाउने अभियानमा सर्वसाधारणदेखि राम्रै आम्दानी हुने मानिसहरूको भिड लाग्न थालेको उक्त अभियानमा लागेकाहरूले बताएका छन ।

होटलमा धेरै पैसा तिरेर खाना खान नसक्ने गरिब, मजदुर लगायत सर्वसाधारणलाई लक्षित गरी १० रुपैयाँमा तात्तातो भात र तरकारी खुवाउने उद्देश्यले १० दिनअघि उक्त अभियान सुरु गरिएको थियो । पैसा भएर पनि तातो र ताजा खाना नपाउनेहरूलाई पनि उक्त अभियानले तानेको छ ।

विराटनगर महानगरपालिकाको मेनरोडमा सञ्चालित सस्तो भरपेट खाना खान दैनिक चार सय जनाभन्दा बढी मानिस आउन थालेको उक्त अभियानका अगुवा दिलिप धाडेवाले बताए ।

श्रीमनसहित सस्तो खाना खान आएकी विराटनगरकी चन्द्रकला कार्कीले १० रुपैयाँमा बासमती चामलको तात्तातो भात पाउदा आफू दङ्ग परेको बताइन । उनले भनिन १० रुपैयाँमा चिया पनि पाइँदैन ,यहाँ पेटभर खाना पो पाइँदो रहेछ ।

विराटनगरकै जुली चक्रवर्ती पनि परिवारसहित बजार घुम्न आउँदा सस्तो खाना खुवाइने स्टलमा भेटिइन । उनले भनिन, बजारमा किनमेल पनि थियो। शनिवार फुर्सदको दिन किनमेलसँगै केटाकेटीलाई घुमाउने र यही खाना खानेगरी सपरिवार बिहानै आएको ।

जाडोमा तात्तातो खान पाइयो, मीठो पनि लाग्यो चक्रवर्तीसँगै आएकी पार्वती मण्डलले भनिन । अभियानकर्मीहरूका अनुसार हरेक दिन फरकफरक तरकारी पकाउने गरिएको छ ।

कहिले राजमा, कहिले काउली, कहिले अन्य गेडागुडी पकाउने गरिएको छ । त्यहाँ लसुन र प्याजरहितको तरकारी पकाइन्छ । दैनिक करिब ८० केजी चामलको भात पाक्ने गरेको अभियानकर्मीहरू बताउँछन । खाना खानेहरूलाई प्लाष्टिकको प्लेटमा दिइन्छ र जारको पानी पिउन पाइन्छ ।

टोकन प्रणाली
हरेक दिन बिहान ११ बजे खाना खाने समय तोकिएको छ । एघार नबज्दै स्टलवरपर भिड लाग्ने गरेको छ । भिडलाई व्यवस्थित गर्न आयोजकहरूले टोकन प्रणाली लागु गरेका छन ।

स्टलमै खानेले १० रुपैयाँ तिरेपछि टोकन लिएर लाइनमा बसेपछि खाना पाउँछन । घरमा लगेर खानेहरूका लागि होमप्याकिङको व्यवस्था पनि छ। होमप्याकिङ खानाको मूल्य चाहिँ प्रतिप्लेट २० रुपैयाँ पर्छ । अभियानकर्मीहरू पनि अरुसँगै त्यहीको खाना खान्छन ।

कलाकारदेखि जनप्रतिनिधिसम्म

सस्तो खानाको चर्चा निकै चलेपछि सर्वसाधारणदेखि उच्च वर्गका मानिसहरू पनि त्यहाँ खाना खान र सहयोग गर्न उत्सुक देखिएको अभियानकर्मीहरू बताउँछन । सुरुमा सस्तो खाना खान हिच्किचाउनेहरू केही दिनमै अहिले सेल्फी खिच्दै खाना खाएको फोटो सामाजिक सञ्जालमा हाल्ने गरेका छन ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, कलाकार दिपाश्री निरौला लगायतले स्टलमा आएर १० रुपैयाँ तिरेर खाना खाएको आयोजकहरूले बताए । उनीहरूले अभियानमा आर्थिक सहयोग पनि गरेको बताइएको छ।

विराटनगरका मेयर भीम पराजुलीले यस्तो सामाजिक कामका लागि महानगरले पनि सहयोग गर्ने बताए ।

सहयोगी दाता थपिँदै
चार जनाले थालेको सस्तो खाना खुवाउने अभियानमा सहयोगी दाताहरू थपिँदै गएको उनीहरूले बताएका छन ।

चामल, तरकारी, भाडावर्तन, पकाउने ग्यास र भान्सेको खर्चको व्यवस्थापन भात बेचेको पैसा र सहयोगीहरूले दिएको पैसाबाट हुँदै आएको छ । यस्तो अभियानलाई निरन्तरता दिने योजना रहेको उनीहरूले बताएका छन । – बीबीसी