Aafno Khabar

‘रिटायर्ड’ जीवन बिताउने मनसायमा अमिताब बच्चन

  • २०७६ पुष ७ गते ०६:३८ प्रकाशित

भारतीय अभिनेता अमिताभ बच्चनले अब ‘रिटायर’ हुने मनस्थिति बनाएका छन् । बच्चनले उनको ‘ब्लग’ मार्फत रिटायरमेन्टको संकेत दिएका हुन् । बच्चनले लेखेका छन्, ‘अब मैले रिटायर्ड हुनुपर्छ, मेरो दिमागले एउटा कुरा गरिरहेको छ भने मेरो औँलाहरुले अर्कै, यो एउटा संकेत हो ।’

केही समयअघि देखि बच्चनको स्वास्थ्यमा समस्या आइरहेको थियो । गएको अक्टाेबर महिनामा पनि उनी अस्पताल भर्ना भएको खबर सार्वजनिक भएको थियो । केही दिन आराम गरेर उनले फेरि ‘कौन बनेगा करोडपति ११’ को छायाँकन सुरु गरेका थिए । तर त्यसपछि पनि उनको स्वास्थ्यमा पटक पटक समस्या भएको खबरहरु आएका थिए ।

‘कौन बनेगा करोडपति ११’ को छायाँकन सकिएलगत्तै बीचमा विश्राम नै नलिइ उनी चलचित्र ‘ब्रह्मास्त्र’ को छायाँकनका लागि मनाली गएका छन् । त्यहाँको मौसम खराब भएपछि बच्चन हवाई मार्गकाे सट्टा सडक मार्गबाटै मनाली गएका थिए । मनालीसम्मको १२ घण्टाको लामो यात्राबाट थकित भएका बच्चनले अब रिटायरमेन्टतर्फ इसारा दिएको खबर यतिबेला भारतीय सञ्चारमाध्यमा आइरहेका छन् ।

अभिताभ बच्चनले यसअघि पनि अभिनयबाट पटक पटक विश्राम लिएका थिए । सन् १९८४ देखि १९८७ सम्म बच्चनले तीन वर्षका लागि चलचित्र तथा अभिनयबाट बिदा लिएका थिए । त्यस समय अमिताभ बच्चन उनका मित्र राजीव गान्धीलाई सहयोग गर्न राजनीतिको मैदानमा उत्रिएका थिए ।

तर राजनीतिमा उनको यात्रा धेरै लामो समयसम्म टिक्न सकेन । बच्चनले सन् १९८८ मा चलचित्र ‘शहन्शाह’ बाट राम्रो ‘कमब्याक’ गरेका थिए । त्यसपछि सन् १९९२ सम्म लगातार चलचित्रमा सक्रिय भएका थिए ।

सन् १९९२ मा चलचित्र ‘खुदागवाह’ प्रदर्शनपछि बच्चनले पाँच वर्षको विश्राम लिएका थिए । त्यसपछिसन् १९९४ मा चलचित्र ‘इन्सानियत’ प्रदर्शन भएको थियो । उनले यो चलचित्रको छायाँकन पहिले नै गरिसकेका थिए तर यो चलचित्र फ्लप भयो ।

त्यस समय अमिताभ बच्चन झण्डै पाँच वर्षसम्म कुनै पनि चलचित्रमा देखिएनन् । पछि सन् २००० मा उनले चलचित्र ‘मोहब्बतें’ बाट कमब्याक गरे र उनी अहिलेसम्म निरन्तर सक्रिय छन् ।