नेपाल विद्युत् प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच १ सय ४० मेगावाट क्षमताको विद्युत् खरिद–बिक्री (पिपिए) सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । प्राधिकरणतर्फका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनाको प्रवद्र्धक कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रदीपकुमार थिकेले शुक्रबार जलाशययुक्त आयोजनाको पहिलो पिपिएका रूपमा सम्झौतामा हस्ताक्षर गरेको तनहुँ जलविद्युत् आयोजनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सम्झौताको अवधि आयोजनाबाट व्यापारिक उत्पादन सुरु हुने मितिदेखि ३० वर्ष वा विद्युत् उत्पादन अनुमतिपत्रको अवधिमध्ये जुन घटी छ, सो समयसम्म कायम रहनेछ । त्यस्तै आयोजनाको व्यापारिक उत्पादन ३० चैत ०८० बाट गर्नुपर्ने उल्लेख छ । पिपिएअनुसार प्राधिकरणले आयोजनाबाट उत्पादित ऊर्जा सुक्खायाम र वर्षायाममा प्रतियुनिट क्रमशः १२ रुपैयाँ ४० पैसा र ६ रुपैयाँ ८ पैसामा खरिद गर्नेछ ।
आयोजनाबाट उत्पादन हुने विद्युत् दमौली–भरतपुर २ सय २० केभी प्रसारणलाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाहित गरिनेछ । आयोजनाको मुख्य संरचनाहरूको निर्माण कार्य नोभेम्बर २०१८ बाट सुरु गर्ने र ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य तय गरिएको विज्ञप्तिमा उल्लेख छ ।
आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर (प्रसारणलाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) रहेको छ । यसमध्ये एसियाली विकास बैंक (एडिबी)ले अमेरिकी डलर १५० मिलियन, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले अमेरिकन डलर १८४ मिलियन, युरोपियन इन्भेष्टमेन्ट बैँक (इआइबी)ले अमेरिकन डलर ८५ मिलियन र नेपाल सरकार–नेपाल विद्युत् प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको उल्लेख छ ।